पारस खड्काः टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान

काठमाण्डौ – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज अन्तर्गत सिंगापुरविरुद्धको खेलमा शतक प्रहार गरेका नेपालका कप्तान पारस खड्काको यतिबेला चौतर्फी चर्चा भैरहेको छ ।

क्रिकेट समर्थकमात्र नभइ क्रिकेट बाहिरका व्यक्तिहरुले पनि पारसलाई बधाइ दिइरहेका छन् । साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि पारसका बारमा निकै सकारात्मक समाचारहरु प्रकाशित गरेका छन् ।

भारतको चर्चित पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले पनि पारसलाई राम्रो स्थान दिएको छ । टी–२० क्रिकेटमा शतक प्रहार गर्ने कप्तानको सूचीमा परेको भन्दै पारसलाई भारतका कप्तान विराट कोहली र अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथसँग तुलना गरिएको छ ।

त्यो पत्रिकाले पारस नेपालका लागि टी–२० मा शतक हान्ने पहिलो कप्तान मात्र नभइ लक्ष्य पछ्याउँदा शतक हान्ने पहिलो कप्तान भएको पनि बताएको छ । ४९ बलमा शतक बनाएका पारसले ५२ बलमा अविजित एक सय ६ रन बनाए । यसअघि टी–२० मा पारसको सर्वाधिक स्कोर मलेसियाविरुद्ध अविजित ८६ रन । यो स्कोर नेपाली खेलाडीले टी–२० मा बनाएको व्यक्तिगत उच्च स्कोरसमेत थियो ।

नेपाली टाेलीका कप्तान पारस खड्का लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान बनेका छन् । यसअघि नेदरल्याण्ड्स का पिटर सीलरले स्कटल्याण्डविरुद्ध बनाएको ९६ रन नै लक्ष्य पछ्याउँदाकाे उच्च स्कोर थियो ।

विराट काेहली र स्टिभ स्मिथलाई पनि उछिने

इंग्ल्याण्डविरुद्ध स्टिभ स्मिथले बनाएको ९० रनलाई पनि पारसले उछिनेका छन्, जुन कप्तानका रुपमा उनकाे तेस्रो ठूलो स्कोर थियो ।

यस्तै वेस्ट इण्डिजका क्रिश गेलले अष्ट्रेलियाविरुद्ध बनाएको ८८ रन कप्तानका रुपमा तेस्रो उच्च रन थियो । यो सूचीमा भारतीय कप्तान विराट काेहली आठौँ स्थानमा छन् । उनले कप्तानका रुपमा लक्ष्य पछ्याउँदा ८२ रन बनाएका थिए ।

नेपालको सिनियर टिममा एक दिवसीय र टी–२० मा शतक प्रहार गर्ने खेलाडी मात्र नभइ पहिलो कप्तान पारसले सिंगापुरविरुद्ध नेपाललाई जिताउँदा विभिन्न रेकर्ड बनाएका छन् ।

नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा पहिलाे शतक
टी–२० अन्तर्राष्ट्रियममा एकै इनिङ्समा नेपालका तर्फबाट सर्वाधिक ९ छक्का
दाेस्राे विकेटका लागि सर्वाधिक रनकाे साझेदारीमा पाँचाैँ -१४५ रन
एसियाली कप्तानमध्ये सर्वाधिक छिटाे शतक प्रहार गर्नेमा चाैथाे
कम याेगफलकाे लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलाे कप्तान
उत्कृष्ट खेल प्रदर्शन गरेर विभिन्न कीर्तिमानसहित नेपाललाई सानदार जित दिलाएका कप्तान पारस खड्काकाे आईसीसी क्रिकेट, इण्डिया टुडे, इण्डियन एक्सप्रेस, द नेशनल लगायतले पनि प्रशंसा गरेका छन् ।

Exit mobile version