लोक सेवाले स्थानीय तहमा ९ हजार १६२ कर्मचारीको विज्ञापन खोल्दैछ : मन्त्री पण्डित

ललितपुर – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा संघीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् ।

शनिवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७ औं वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’मा मन्त्री पण्डितले विभिन्न ३ तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन केन्द्रले सहयोग गर्ने बताए ।
‘यो अध्ययन केन्द्रमा विश्वकै संविधान अवलम्वन गर्ने देशका मानिसहरूले बसेर अध्ययन र अनुसन्धान गर्न पाउने छन्,’ उनले भने ।

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको मन्त्री पण्डितले जानकारी दिए । ‘२ महिनाभित्र सातै प्रदेशका भवन हस्तान्तरण गरी काम अघि बढाउने भएका छौं,’ उनले भने ।

लोक सेवाले दशैंको अन्तिमसम्ममा स्थानीय तहका लागि ९ हजार १६२ कर्मचारीको विज्ञापन आह्वान गर्ने उनले बताए ।

देशलाई अझ व्यवस्थित बनाउन हरेक नेपालीलाई प्रशिक्षणको जरुरत रहेको मन्त्री पण्डितले बताउँदै भने, ‘त्यसपछि मात्र मुलुकअघि बढ्ने छ ।’

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले निर्माण हुन लागेको सो अध्ययन केन्द्रले मुलुकको उच्च तहमा रहेका व्यक्तिलगायत कर्मचारीलाई गुणस्तरीय प्रशिक्षणका साथै परामर्श दिने बताए ।

यसैगरी उपकार्यकारी निर्देशक नारायणगोपाल मलेगोले प्रतिष्ठानको समयअनुसार स्वरुप र मुहार परिवर्तन गरी अघि बढेको जानकारी दिए ।

पूर्व कार्यकारी निर्देशक दिनेशप्रसाद पन्तले प्रतिष्ठानले नीति निर्माण र स्रोत परिचालनमा ध्यान दिए जसरी संस्थागत क्षमता बढाउन ध्यान दिनुपर्ने सुझाव दिए । सो प्रतिष्ठानले गण्डकी प्रदेशमा संरचना निर्माण, कणाली प्रदेशमा मानव स्रोत प्रतिवेदन निर्माण गर्नुका साथै अन्य प्रदेशमा लैंगिकमैत्री बजेट प्रस्तुत, अन्तर्क्रिया, सुझाव गोष्ठी सम्पन्न गरेको कार्यक्रममा बताइएको छ ।

सो वार्षिककोत्सवको अवसरमा प्रतिष्ठानले ३ उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो ।

Exit mobile version