प्रदेश-२ : लोकसेवा आयोगका अध्यक्षले लिए शपथ, नीति आयोगको उपाध्यक्ष परिवर्तन

२२ भदौ, जनकपुरधाम । प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष प्रा. डा. सुरेन्द्र प्रसाद यादवले शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार पद तथा गोपनियताको शपथ गराएका छन् ।

मधेश भवनको कभर्ड हलमा आयोजित एक समारोहकाबीच लोकसेवा आयोगमा तीन साताअघि नियुक्त यादवलाई शपथ ग्रहण गराइएको हो ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले गत भदौ ५ गते डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरेको थियो ।

यादव सिराहाको औरही गाउँपालिका ५ का बासिन्दा हुन् । उनी सिराहा क्याम्पसको अंग्रेजी भाषाका उप–प्राध्यापकमा कार्यरत छन् ।

प्रदेश प्रमुख कायस्थले यादवलाई शपथ ग्रहण गराइरहँदा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका मन्त्री, प्रदेश सांसद, कर्मचारीसहितको उपस्थिति थियो ।

यस्तै प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा प्राध्यापक डा. भोगेन्द्र झा नियुक्त भएका छन् । यादवको शपथ ग्रहण समारोहमै झालाई नीति आयोग उपाध्यक्षको प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसअघि नीति आयोगको उपाध्यक्षमा डा. हरिबंश झालाई नियुक्त गरिएको थियो । तर, डा. हरिबंश झा एक सार्वजनिक कार्यक्रममा प्रदेश सरकारको बिरोध गर्दै मन्तव्य व्यक्त गरेका थिए ।
-Onlinekhabar-

Exit mobile version